August 16, 2017

दुईसाता अघि अपहरणमा परेका प्रदिप यादव अपहरणमुक्त

दिनेश शर्मा/राजविराज, ५ वैशाख । दुईसाता अघि अपहरणमा परेका भारतीय नागरिक प्रदिप यादवलाई सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजको टोलीले मंगलबार सकुसल अपहरणमुक्त गरेको छ ।

अञ्चल प्रहरी कार्यालय राजविराजका अनुसार मंगलबार बिहान लहान नगरपालिका १५ बेताह निवासी रमेश लामाको घरबाट यादवलाई अपहरण मुक्त गरिएको हो । अपहरणमा संलग्न रहेको आरोपमा लामासहित सिरहाका किसुनदेव यादवलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।

यसैगरी सप्तरी घर भएका दिपनारायण यादव र ठेगाना नखुलेका जयराम यादवलाई पनि घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारत सुपौलस्थित मौवाहा मझारीका २३ वर्षिय प्रदीप यादव गत चैत २३ गते अपहरणमा परेका थिए ।

प्रारम्भिक अनुसन्धानले अपहरणको मुख्य कारण आर्थिक कारोबार देखिएको अपहरण मुक्त गर्न खटिएको प्रहरी टोलीमा संलग्न ईलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिएका छन् ।

प्रहरीले अपहरणमुक्त यादवलाई  परिवारको जिम्मा लगाउने तयारी गरिरहेको र घटनाबारे विस्तृत अनुसन्धान थालिएको डिसपी पाण्डेले बताएका छन् ।