दिल्लीमा रिमोट थिचे लगत्तै वीरगंज आइसीपीबाट धमाधम काम सुरु

राम कुशवाहा/ वीरगंज २४ चैत । बहुप्रतिक्षित वीरगञ्जको अलौस्थित एकीकृत जाँचचौकी (आइसीपी)बाट आजदेखी औपचारीक रुपमा काम शुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा आज हैदरावादबाट दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा रिमोट थिचेर एकीकृत जाँच चौकीको उद्घाटन गरे लगत्तै यता आईसीपीबाट आयात निर्यातको काम शुरु भएको वीरगंज भन्सार कार्यलयका प्रमुख सेवन्तक पोखरेलले बताए ।

आज आइसीपीबाट नेपाल हुदै भारत तर्फ जुत्ता र म्याट बोकेका ३ ट्रक सामान निकासी भएको छ भने नेपाल आयत निगमको पेट्रोलियम पदार्थ बोकको ६० भन्दा वढी ट्यांकरहरु आईसिपि हुदै नेपाल भित्रिएको वीरगंज भन्सार कार्यलयका प्रमुख पोखरेलले बताए ।

आइसिपीको व्यवस्थापन हेर्ने उद्योग मन्त्रालयको नेपाल इन्टर मोडेल यातायात विकास समिति कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतका अनुसार नेपाल र भारत तर्फ झण्डै ३ सय १५ विगाहा अधिग्रहण गरी ३ अर्ब रुपैयामा नेपाल र भारत तर्फ संरचना निर्माण गरि व्यवस्थित रुपमा अायात निर्यात कारोबार शुरु भएको हो ।

आईसिपी संचालनमा आएपछि वीरगज रक्सौल नाकामा हुदै आएको ट्राफिक जाम अन्त्य हुने छ । यसैगरि दुवै देशको समान आयात निर्यातमा सहज हुने वीरगज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले बताए ।

आइसिपीमा विद्युत सवस्टेशन, कार्गो भवन, क्वारेन्टाइन भवन, प्रशासनिक भवन, गोदाम, सुरक्षा ब्यारेक, शौचालय लगायतका संरचना निर्माण भइ संचालनमा आएको वीरगज भन्सार कार्यलयले जनाएको छ ।

यस्तै मोतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइनको पनि शिलान्यास भएको छ । प्रधानमन्त्री र भारतीय समकक्षी मोदीले स्वीच दबाएर पाइपलाइनको शिलान्यास गर्नुभएको हो । भारतबाट नेपालमा पेट्रोलियनम पदार्थ आपूर्ति गर्न बिहारको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइन निर्माण गर्न लागिएको हो । पेट्रोलियम पाइपलाइन मोतिहारी–रक्सौल हुँदै अमलेखगञ्जसम्म निर्माण गरिने छ ।

झण्डै ६९ किलोमिटर दूरीको पाइपलाइनबाट प्रतिवर्ष २० लाख टन पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिने छ । पाइपलाइनबाट प्रति घण्टा २ लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको नेपाल आयल निगमले जनाएको छ। इण्डियन आयल कर्पोरेशनको झण्डै ३ अर्व भारतीय रुपैयामा पाइपलाइन विस्तार कार्य अगाडी बढी रहेको निगमले जनाएको छ ।