दलित अगुवा युक्तिलाल मरिकलाई यस बर्षकाे ‘बैद्य–प्रकाश मानवअधिकार पुरस्कार’ प्रदान गर्ने निर्णय

दिनेश शर्मा राजविराज, १६ साउन । दलित अगुवा युक्तिलाल मरिकलाई यस बर्षकाे  ‘बैद्य–प्रकाश मानवअधिकार पुरस्कार’ प्रदान गरिने भएकाे छ ।

दलित आन्दोलन तथा मानवअधिकार रक्षाका लागि महत्वपुर्ण योगदान पुर्याए वापत ५३ वर्षिया मरिकलाई ‘बैद्य–प्रकाश मानवअधिकार पुरस्कार’ सम्मान गर्न लागिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’बाट सम्मानित राजविराज–७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागरिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिदै आएको छ ।

बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको आईतवारको बैठकले मरिकलाई सम्मान गर्ने निर्णय गरेको हो । यो पुरस्कार पाउने उनी दोश्रो ब्यक्ति हुन् । यसअघि ‘बैद्य–प्रकाश मानवअधिकार पुरस्कार–२०७३’ वाट सप्तरीकै वलदेव रामलाई सम्मान गरिएको थियो ।

२५औं प्रकाश स्मृति दिवसका अवसरमा साउन १६ गते राजविराजमा एक समारोहको आयोजना गरी मरिकलाई सम्मान गरिने कोषका अध्यक्ष बैद्यनाथ झाले बताए । पुरस्कारको राशी ३ हजार एक सय पाँच रूपैयाँ छ ।

दुई दशकदेखि गरीब, असहाय, दलित, महिला, अल्पसंख्यक र भुमिहिनहरुको पक्षमा सक्रिय युक्तिलाल मरिक दलितमा पनि सबैभन्दा पछाडि पारिएको डोम जातीको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छन् ।

उनी वि.स. २०५६ देखि डोम जातीको भुमि तथा कृषि अधिकार, दलित सशक्तिकरण र सिनो बहिष्कार आन्दोलन, जातिय छुवाछुत र घर उठीवास विरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलहरुमा डोम समुदायको प्रवेश खुल्ला गराउन निरन्तर क्रियाशिल छन् । डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष समेत रहेका मरिकले स्नातकसम्मको शिक्षा पुरा गरेका छन् ।