October 24, 2017

थ्रेसहोल्ड सम्बन्धी प्रस्तावको साना दलद्वारा विरोध

काठमाण्डौ, ९ चैत्र । व्यवस्थापिका संसदको बुधबारको बैठकमा १९ साना दलले ‘राजनीतिक दलसम्बन्धी विधेयक’ मा तीन प्रतिशत मत सीमा (थ्रेस होल्ड) प्रस्ताव गरिएकोमा त्यसको विरोध जनाएका छन् ।

उनीहरुले प्रमुख दलसहित सो विषयमा पुनरावलोकनका लागि पहल गर्न सभामुख ओनसरी घर्तीसँग माग गरेका छन् । सो प्रस्ताव पारित गराइए निर्वाचन समेत प्रभावित हुने उनीहरुले बताएका छन् ।

बैठकमा सभामुखसँग समय लिएर नेकपा (माले) का महासचिव सिपी मैनालीले त्यसको विरोध गर्दै यसमा पुनःविचार गर्न आग्रह गरे ।

उनले ठूला र साना सबै दल मिलेर लोकतान्त्रिक परिवर्तन भएको र जनप्रतिनिधि आउँदा विविधता हुनका लागि थ्रेसहोल्ड राख्न नहुने माग गरे ।

बैठकमा राष्ट्रिय जनमोर्चाका मीना पुनले सांसदलाई खरिद बिक्री गर्ने र अस्थिरता निम्त्याउने काम ठूला दलले गरेकाले साना दललाई दोष देखाएर यस्तो प्रस्ताव नल्याउन माग गरिन् ।

त्यस्तै मधेश केन्द्रित दलहरुले बुधबारको बैठक पनि बहिष्कार गरेका छन् ।