August 16, 2017

थप १७ जिल्लामा पहिलो किस्ताको अनुदान वितरणको प्रक्रिया सुरु गरिने

काठमाण्डौ, १५ चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित थप १७ जिल्लामा पनि नीजि आवास निर्माणको अनुदान रकम वितरण प्रक्रिया सुरु गरेको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ९६ प्रतिशत लाभग्राहीलाई पहिलो किस्ताको अनुदान वितरण गरिसकेको प्राधिकरणले भूकम्पले कम प्रभावित थप १७ जिल्लामा घर निर्माणका लागि अनुदान रकम वितरण प्रक्रिया सुरु गर्न लागेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलबार बसेको कार्यकारी समितिको बैठकले भूकम्प प्रभावित १७ जिल्लामा पहिचान भएका लाभग्राहीसँग तत्काल अनुदान सम्झौता गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका सह–प्रवक्ता डा. भीष्मकुमार भूसालले भने,‘ मानवीय र भौतिक क्षतिको हिसाबले अति प्रभावित १४ जिल्लालाई पहिलो प्राथमिकता दिइएकोमा बाँकी १७ जिल्लामा पनि अनुदान वितरणको प्रक्रिया सुरु गर्न लागेका छौं।’

सर्भे गरिएका १७ जिल्लाबाट प्राप्त आंशिक तथ्याङ्कको आधारमा अहिलेसम्म १५ हजार ७ सय ४३ घरधुरी लाभग्राही सूचिमा समावेश भएका छन् ।

यसैगरी कार्यकारी समिति बैठकले भूकम्प प्रभावित जिल्लामा निर्माण सामग्रीमा कृत्रिम मुल्यवृद्धि गरिएको गुनासोलाई मध्यनजर गर्दै कालोबजारी नियन्त्रणका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासनलाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले नयाँ नगरपालिका बनेका ठाँउका भूकम्प पीडितहरुको हकमा घर निर्माणका लागि नक्सा पास गर्ने प्रक्रियालाई सरलीकरण गर्न कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ संयोजकत्वको उपसमितिलाई जिम्मा दिएको छ ।

यसैगरी बैठकले भूकम्प अतिप्रभावित १४ जिल्ला मध्ये ११ जिल्लाबाट प्राप्त २० हजार ९ सय ६७ गुनासोलाई सम्बोधन गर्ने निर्णय गरेको छ ।