November 17, 2017

तोकिएकै समयमा स्थानीय निर्वाचन हुने प्रधानमन्त्रीको जिकिर

काठमाण्डौ, २६ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकायको निर्वाचन हुनै पनि हालतमा पर नसर्ने स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले तोकिएको समयमा नै स्थानीय निकायको निर्वाचन हुने भन्दै यसमा आशंका नगर्न समेत आग्रह गरेका छन् ।

लोकतन्त्र संस्थागत गर्न निर्वाचनको कुनै विकल्प नभएको प्रधानमन्त्री दाहालको भनाई छ । उनले घोषणामा लोकतन्त्रलाई स्वीकार्ने तर लोकतान्त्रिक संस्कृतिको निर्माण र अवलम्बन गर्ने कुरामा समस्या देखिएको भन्दै लोकतन्त्रका लागि निर्वाचन र राजनीतिक प्रतिस्पर्धालाई सहजतापूर्वक आत्मसात् गर्न जरुरी रहेको बताए ।

नयाँ संविधानले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको भन्दै उनले ती अधिकारको कार्यान्वयनका लागि निर्वाचनको कुनै विकल्प नरहेको उल्लेख गरे ।

स्थानीय तहको निर्वाचनले मात्र सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजाने वातावरण बन्ने दाहालको भनाई छ ।

प्रधानमन्त्री दाहालले सूचनाको हक लोकतन्त्रको स्तम्भ भएको भन्दै सूचना र सूचनाको हक प्रभावकारी भयो भने मात्रै लोकतन्त्र बलियो हुनेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तहरु यशोदादेवी तिम्सिना, किरणकुमार पोखरेलले सूचनाको हक सम्बन्धी प्रतिवेदनलाई व्यवस्थापिका–संसदमा छलफलको विषय बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।