‘तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३’ को तयारी पूरा

काठमाण्डौ, १६ चैत्र । ‘शान्ति, सम्वृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुन लागेको ‘तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३’ को तयारी पूरा भएको छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिन सम्म चल्ने मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको छ ।

मेलामा भाग लिने विदेशी पाहुनाहरु नेपाल आइसकेको र उनीहरुले ल्याउने प्रविधिका सामाग्रीहरु पनि नेपाल ल्याई सकिएको जानकारी ‘फ्यान’ का अध्यक्ष कुमार कसजुले बताए ।

मेलामा मौसमी फूल, आलंकारीक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबीजन, ग्रीनहाउस, कृषिऔजार, उपकरण, प्याकेजिंगका सामग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ ।

यो तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो पुष्पव्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूलबिरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ ।

महासचिव मिनबहादुर तामाङले प्रविधि विस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्पव्यवसायीहरुलाई मेलामा सहभागी गराइएको बताए ।