तीन दशक देखि स्तरोन्नतीको पर्खाइमा सुर्खेतका ग्रामिण सडक

रमेश कुमार पाण्डे/ सुर्खेत १७ चैत्र । बर्षामा हिलाम्य र सुख्यामा धुलाम्य रहने सुर्खेतका सडकहरुको समस्या हो ।
अधिकांश जिल्लाका ग्रामिण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका यस्ता ग्रामिण सडकको स्तरोन्नती समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परेको छ ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वी तथा उत्तरी भेगका साटाखानी, गर्पन, कल्यान, रानीवास, नेटा, डाडाखाली, बजेडीचौर लगायत थुप्रै गाविसलाई सदरमुकाम र सुर्खेतलाई राजधानीसम्म जोड्ने धुलियाविट भेडावारी सडकखण्डको अवस्था पनि दयनीय छ ।
सडक निर्माण सुरु भएको तीन दशक बिति सक्दापनि सडकको स्तरोन्नती नहुँदा यस क्षेत्रका वासिन्दाले सास्ती व्यहोर्नु परेको छ ।
जनतालाई विकासको गुणस्तरीय पूर्वाधार उपलब्ध गराउन जनप्रतिनीधिले ढिलासुस्ती गर्दा धेरै कष्ट भोग्नु परेको कल्यानका स्थानीय टोपबहादुर डांगी बताउछन् ।


सडक स्तरोन्नतीका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरेको छ । तर हरेक वर्ष न्युन बजेट विनियोजन हुँदा मर्मतको काम अधुरै छ । सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको यस सडकमा ६ वर्षदेखि जिल्ला विकास समिति सुर्खेतले मर्मत गर्दै आएको छ ।
सडक क्षेत्रको चिंगाड खोलामा निमार्णाधिन पुल समयमा बन्न नसक्दा स्थानीय कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन । पुल निर्माण ठेकेदारको लापरवाहीले जनताले दुःख पाउदासमेत सरोकार निकायले चासो नदिएको स्थानीय शेरबहादुर खत्री बताउछन् ।
धुलियाविट–भेडावारी सडकलाई सडक कार्यालयले जिल्ला विकास समितिको मातहतमा रहेको भन्दै बजेट तथा कार्यक्रम राखेको छैन भने जिल्ला विकास समितिले नियमित र मर्मतमा सामान्य बजेट राख्ने गरेको छ ।
स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमबाट वर्षेनी बजेट आउने गरेपनि पर्याप्त नभएको जिल्ला विकास समिति सुर्खेतले जनाएको छ । ३७ किलोमिटर रहेका सडक सरकारको केन्द्रीय योजनाबाट विमुख हुन पुगेको हो ।
सडक स्तरोन्नती भएमा पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउनुका साथै सुर्खेतबाट काठमाडौं जानलाई समेत हालको भन्दा ५० किलोमिटर दुरी छोटो पर्दछ ।