तामाकाेशीकाे शेयरमा ढिलाइ, कारण यस्ताे छ

दोलखा, ७ असार । माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने मिति नजिकिदै गए पनि आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई शेयर जारी गर्न थप ढिलाई भएको छ ।

नयाँ स्थानीय तह अनुसार जिल्ला समन्वय समितिको गठनमा ढिलाई हुँदा माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाबासीलाई शेयर जारी गर्न सकेको छैन । दोलखाबासीले जारी पूँजीको १० प्रतिशत शेयर पाउने गरी कम्पनीको शेयर संरचना बनेको बर्षौं भइसकेको छ ।

जिल्ला समन्वय समितिले शेयर वितरण प्रक्रिया पारित गरेपछि मात्रै कम्पनीले दोलखालीले पाउने १० प्रतिशत शेयर वितरण गर्ने व्यवस्था छ । स्थानीय बासिन्दाले पाउने शेयर वितरणमा ढिलाई भएसँगै अन्य सर्वसाधारणले पाउने १५ प्रतिशत वितरण समेत थप पछि धकेलिएको छ ।

हाल आयोजनको निर्माण करिब ८९ प्रतिशत सम्पन्न भइसकेको छ । विनाशकारी भूकम्पका कारढले रोकिएो माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुनै लाग्दा समेत शेयर वितरण हुन नसक्दा २ वर्षदेखि लगानीका लागि रकम जोहो गरेर बसेका स्थानीय वासिन्दा अन्योलमा परेका छन् ।

नयाँ जिल्ला समन्वय समितिले निर्णय लिनुपर्ने व्यवस्था भए पनि सो समिमितको निर्वाचन हुन नसक्दा शेयर वितरणमा ढिलाइ भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौैपानेले बताए । शेयर वितरणमा ढिलाइ हुँदा कम्पनीको पूँजी परिचालन र आयोजनाको खर्च व्यवस्थापन नै प्रभावित भएको उनले जानकारी दिए । याे खबर आर्थिक अभियान दैनिकमा छ ।