August 21, 2017

डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

भक्तपुर, ११ फाल्गुन । केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पुरा भएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा बिकास समितिले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।

यही फागुन १३ गते मनार्इने महाशिवरात्री पर्व व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन गरिएका छन । पर्व सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव मोहन बल्लले जानकारी दिए ।

मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत ब्यवस्था गरिएको संयोजक बल्लले जानकारी दिए । त्यस्तै, शिवरात्रीमा आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादीको समेत ब्यवस्था मानव सेवा संघ कुलेश्वर काठमाडौबाट गरिएको छ ।

मन्दिरले हरेक वर्ष डोलेश्वरमा आउने साधु सन्त र बाबाहरुको चाप बढ्दै गएपछि बाबाहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा उपलब्ध गराइने जनाइएको छ । क वर्गका साधुसन्तका लागि एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिण तथा प्रति साधुलाई एक थान कम्बल, दुई थान धोती र एक थान कमण्डलु प्रदान गरिनेछ ।

त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ ।