September 25, 2017

डोलेश्वरमा साधुसन्तको विदाई

काठमाण्डौ, १४ फाल्गुन । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वमा सहभागि भएका साधुसन्त र नागाबाबाहरुलाई आज बिदाई गरिएको छ ।

बिदाईको क्रममा साधुसन्त र नागाबाबाहरुलाई दक्षिणाका साथ एक थान कम्बल, २ थान धोती र १ थान कमण्डलु प्रदान गरि विदाई गरिएको
हो । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

जसअनुसार ‘क’ वर्गका साधुसन्तलाई नगद १ हजार १ सय ११, ‘ख’ वर्गलाई नगद ७ सय ७७ रुपैयाँ र ‘ग’ वर्गलाई नगद ५ सय ५५ रुपैयाँ दक्षिणा दिइएको हो ।

डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तहरुको आगमन हुने बढेको छ । यस वर्ष २ सय ५० साधुसन्तहरुको आएको समितिले जनाएको छ । डोलेश्वरमा शिवरात्री पर्वका लागि गत दुई हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो ।