September 20, 2017

डिसेम्बरभित्रै काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराइने

काठमाडौं, १८ साउन । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले मेलम्चीको खानेपानी काठमाडौंवासीले यही डिसेम्बरभित्रै पिउन पाउने बताएका छन् ।

उनले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउनेछन्, हामीले असोजभित्रै ल्याउने भनेका थियौं, तर केही प्राविधिक समस्याका कारण संभव भएन, अब पुसको पहिलो हप्ताभित्रै ल्याउने रणनीति बनाएका छौं, ढुक्क हुनुहोस डिसेम्बरभित्र हामी काठमाडौंमा मेलम्चीको पानी ल्याएरै छाड्छौं।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले मेलम्चीको पानी काठमाडौंवासीहरुमाँझ ल्याउने स्वर्गीय कृष्णप्रसाद भट्टराईको चाहना अब छिट्टै पूरा हुने बताएका हुन् ।

उनले भने,‘उहाँले सोचेको कुरा अब चाँडै पूरा हुँदैछ, सकेसम्म चाँडै ल्याउने तयारी थियो, असोजभित्रै ल्याउने भनिएको थियो तर केही प्राविधिक कठिनाईका कारण ढिलाई भएको हो, अब केही दिनभित्रै हामी यसको बारेमा मन्त्रालयमार्फत जनतासामू धारणा सार्वजनिक गर्छौं।’

मन्त्री यादवले आफ्नो कार्यकालभित्रै मेलम्ची आयोजना पूरा हुने दाबी गरे । उनले भने,‘हुन त दशैंअघि नै मेलम्ची आउने भनिएको थियो, अब दशैंमा आउने संभावना छैन, अहिले चार ठाउँबाट काम भैरहेको छ, टनेलको काम बाँकी छ।’ उनले मेलम्चीको पानी काठमाडौं आउने त सपना भन्नेहरुलाई विपनामा मै परिणत गरेर देखाउने विश्वास दिलाए ।

त्यस्तै उनले प्रधानमन्त्री देउवाको निर्देशन अनुसार काठमाडौंका सडकहरुमा देखिएका सबै खाल्डाखुल्डीहरु पुर्ने काम भैरहेकोले केही दिनभित्रै सबै काम सम्पन्न हुने स्पष्ट पारे ।

उनले भने,‘धेरै खाल्डाहरु पुर्ने काम सम्पन्न भैसकेको छ, अब केही बाँकी छन्, त्यो पनि एक दुई दिनभित्रै पुरिन्छन्।’ यद्धपी उनले मेलम्चीको कामले गर्दा खाल्डाखुल्डीहरु भएको जनाए ।

त्यस्तै उनले काठमाडौंमा देखिएका खानेपानीको समस्या समेत चाँडै समाधान गर्न आफूले पहल गरिरहेको विश्वास दिलाए । उनले थपे,‘खानेपानीबारे काठमाडौंमा देखिएको समस्या हल गर्न मैले विभागलाई निर्देशन दिईसकेको छु, पिउने पानीमा देखिएको लेदो, फोहोर हटाउनको लागि मैले निर्देशन दिएको छु, म लापरवाही दुर गर्छु।’