October 22, 2017

डिपीएलमा रुपन्देही च्यालेन्जर्सको विजयी सुरुवात

धनगढी, २८ चैत्र । धनगढी प्रिमियर लिग (डिपीएल) अन्तर्गतको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले कन्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ ।

आज भएको दोस्रो खेलमा रुपन्देहीले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा कन्चनपुर आइकोनिकले २० ओभरमा ९ विकेट गुमाउदै एक सय ३१ रन मात्र बनाएको थियो ।

रुपन्देहीलाई जिताउने क्रममा रुपन्देहीका बलर कृष्ण कार्की र शाहाब आलमले ३, ३ विकेट, त्यस्तै कप्तान शक्ति गौचनले २ र दिपेश श्रेष्ठले एक विकेट लिएका थिए । कन्चनपुरका ब्याट्सम्यान सागर पुनले सर्वाधिक ३९ रन बनाएका थिए भने सुनील धमलाले २८ र कुशल भुर्तेलले २७ रन बनाएका थिए ।

टस जितेर पहिला ब्याटिंग राजेको रुपन्देहिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै एक सय ४५ रन बनाएको थियो । रुपन्देहीका हरिशंकर शाहले ३३, प्रकाश केसीले २६, शंकर रानाले १९, कप्तान शक्ति गौचनले १६ र बिक्रम सोबले नट आउट १५ रन बनाएका थिए ।

त्यस्तै कंचनपुरका बलर कुशल भुर्तेलले ४ विकेट लिएका थिए भने अभिनाश कर्णले २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच ३ विकेट लिएका रुपन्देहीका बलर कृष्ण कार्की भएका छन् ।

डिपीएल अन्तर्गत मंगलबार पहिलो खेल बिराटनगर किंग्स र धनगढी टिम चौराहाकाबीच हुने छ भने दोस्रो खेल काठमाडौँ गोल्डेन्स र कंचनपुर आइकोनिकका बीच हुने छ ।