October 22, 2017

डिपिएलमा धनगढी टिम चौराहाको पहिलो जित

काठमाण्डौ, २ वैशाख । धनगढी प्रिमियर लिगमा धनगढी टिम चौराहाले पहिलो जित हात पारेको छ । शनिबार भएको आफ्नो चौंथो खेलमा पारस खड्काको कप्तानीमा रहेको धनगढीले काठमाण्डौ गोल्डेन्सलाई ११ रनले हराएको हो ।

पहिलो जितपछि धनगढी टीम चौराहले अंक तालिकामा दुई अंक जोडेको छ । धनगढीको कञ्चनपुर आईकोनिकसग समान अंक भएपनि रनरेटका आधारमा पाचौ स्थानमा रहेको छ ।

पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनायो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५८ रन बनाए । यो धनगढी प्रिमियर लिगको दोस्रो अर्धशतक हो । यसअघि सिवाईसी अत्तरीयाका योगेन्द्र सिंह कार्कीले पहिलो अर्धशतक बनाएका थिए । कप्तान पारस भने डकआउट भए ।

अनिल मण्डलले २९, शौरभ खनालले १६, राजु रिजालले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । काठमाण्डौका लागि सोमपाल कामी र मञ्जित श्रेष्ठले ३/३ विकेट लिए ।

१ सय ३७ रनको लक्ष्य लिएर मैदान उत्रिएको काठमाण्डौले २० ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । काठमाण्डौका लागि सन्दिप जोराले २८ र सोमपालले २४ रन बनाए ।

काठमाण्डौलाई सस्तैमा समेट्ने क्रममा आरिफ सेख र शौरभ खनालले ३/३ विकेट लिए । रामनरेश गिरीको नाममा दुई विकेट रहयो । बलिङ र ब्याटिङ दुबैमा चम्किएका आरिफ शेखले वेल्स क्याफे म्यान अफ द म्याच हुदै नगद १० हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत आईतबारको पहिलो खेलमा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स तथा दोस्रो खेलमा सिवाईसी अत्तरीया र कञ्चनपुर आईकोनिकबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।