August 17, 2017

ठेकेदारको लापरबाही सडक निमार्णमा गुणस्तरहीन सामग्रीको प्रयोग

झापा, चैत्र २१ । झापाको सहायक मार्ग चाराआली भद्रपुरहुँदै केचना सडक खण्ड निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ ।

झापाबासीको चार दशक लामो संघर्ष पश्चात् चाराआली–केचना सडक खण्ड निर्माण कार्य माघदेखि सुरु भएको हो । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रमेश लेखकले असोज १७ गते शिलान्यस गरेको तीन महिनापछि निर्माण कार्य सुरु भएको हो ।

तर, ठेकेदार कम्पनीले निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गर्न थालेपछि स्थानीय जनता अहिले आक्रोशित बनेका छन् । निर्माण कार्य गुणस्तरयुक्त बनाउनु पर्नेमा ठेकेदार कम्पनीले सरकार तथा जनताको आँखा छल्दै गुणस्तरहीन बनाइरहेको स्थानीयले आरोप लगाएका छन् ।

४० किलोमिटर लामो सडक खण्ड अन्तर्गत २० किलोमिटर सम्मको सडक बनाउने ठेक्का कालिका, कनकाई र याकथुमहाङ्ग जेभीले लिएको हो । सोही अनुसार चाराआलीदेखि चन्द्रगढीसम्म निर्माण भइरहेको पाइप कल्र्भटमा ठेकेदारले कमसल सामग्री प्रयोग गरेको पाइएको छ ।

ठेकेदारले माटो मिसिएको बालुवामा सिमेन्टको मात्रा कम प्रयोग गरेकाले पाइप कल्र्भटहरु चर्किन थालिसकेको स्थानीयबासीको आरोप छ ।

निर्माण कम्पनीले भ्याट सहित ४१ करोड ६१ लाख ८४ हजार १ सय ४२ रुपैयाँमा ठेक्का लिई ३० महिनामा सम्पन्न हुने गरी कार्य सुरु गरेको हो ।

ठेकेदारले पाइप कल्भर्टको निर्माण कार्य धमाधाम गरिरहेको भए पनि कल्भर्ट बनाउँदा लापरबाही ढंगले निर्माण सामग्री प्रयोग गरिरहेकोले यो दीर्घकालीन नहुनेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।