ठुलो परिमाणको गाँजा सहित ३ युवा पक्राऊ

अमर काफ्ले
इनरुवा, १६ चैत्र । ठूलो परिमाणको गाँजा सहित सुनसरीको हरिपुर क्षेत्रबाट ३ जना युवा पक्राउ परेका छन् । सशस्त्र सीमा सुरक्षा बल विओपी भाण्टाबारीको टोलीले १ सय ७५ केजी गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भोजपुरका घनश्याम खड्का, सुनसरी प्रशासपुरका संजिव मुखिया र श्रीपुर जब्दीका विद्यानन्द मुखिया रहेका छन् ।

गाँजा ५ वटा बोरामा प्याकिङ गरी कोशी टप्पु वन्यजन्तु आरक्षणको संरक्षित क्षेत्र भित्र बालुवामा खाल्डाे खनी लुकाएको अवस्थामा शसस्त्र प्रहरीले बरामद गरेको थियो ।

धनकुटा र उदयपुर क्षेत्रबाट संकलित गाँजा रातभरी सप्तकोशी नदीमा नाउ खियाउँदै कोशी टप्पु वन्य जन्तु आरक्षणको संरक्षित क्षेत्रमा ल्याएर लुकाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

भाण्टाबारीबाटै एक महिनाअघि एम्बुलेन्समा भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद भएको थियो ।