October 19, 2017

ठुला महल र कालोपत्रे सडक बनाएर मात्रै विकास भयो भन्नु मुर्खता हो–सांसद यादव

दिनेश शर्मा

राजविराज, २३ चैत्र । सप्तरी क्षेत्र नम्बर ३ का सांसद उमेशकुमार यादवले सिमेण्ट र छड प्रयोग गरेर ठुल–ठुला महल र कालोपत्रे सडक बनाएर मात्रै विकास भयो भन्नु मुर्खता मात्रै हुने बताएका छन् ।

मानिसको चेतना, बौद्धिक विकास, कला, संस्कृति, रहनसहनसँगै अगाडि बढेको भौतिक पुर्वाधारले मात्रै विकासको अर्थ राख्ने उनको भनाई छ ।

बुधबार राजविराजमा आयोजित १५ दिने कलाकारिता प्रशिक्षण तालिमको उद्घाटन गर्दै सांसद यादवले विकासका लागि ब्यक्ति, समाज, जिल्ला र राष्ट्रका लागि आवश्यक क्षेत्रको उत्थान र प्रगति गुर्न पर्ने बताएका छन् ।

सांसद यादवकै संसदीय विकास कोषबाट छुट्याईएको बजेटबाट आयोजित तालिम उदघाटन सत्रलाई स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेल, अग्रज पत्रकारहरु शिवहरीप्रसाद भट्टराई र ब्यासशंकर उपाध्याय, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, गितकार श्रीराम मण्डल, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, डा. रञ्जित झा, करुणा झा लगायतले पनि सम्वोधन गरेका थिए ।