August 16, 2017

ट्रयाक्टर दुर्घटनामा एकै परिवारका तीन बालिकाको मृत्यु

अतिश कुमार मिश्र

जनकपुरधाम , २ चैत्र  । धनुषा जिल्लाको गिद्धा (कोयलपुर सडक खण्डको केउटानी) मा ज.१ त .३६२२ नम्बरको ट्रयाक्टर पल्टिदा एकै परिवारका तीन बालिकाको ज्यान गएको छ ।

इँटा लोड गरी जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई पल्टेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेहरुमा गोठकोयलपुर ९ बस्ने खोखिला साफीको ३ बर्षीया छोरी सविता साफी, श्याम साफीको ५ बर्षीया छोरी सुजिता साफी र फेकुवा साफीको ५ बर्षीया छोरी प्रिया साफी रहेको ईलाका प्रहरी कार्यालय यदूकोहाले जनाएको छ ।

मृतक तिनै जना एकै परिवारको रहेको र तीनै जनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ ।

ट्रयाक्टर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेका छन् ।