June 27, 2017

टुबर्ग गोल्ड कप सुरु, उदघाटन खेलमा सुदुरपश्चिम बिजयी

नेपालगञ्ज २६ फाल्गुन । टुबर्ग दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि नेपालगन्जमा शुरु भएको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा पश्चिम नेपाल कै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता सुरु भएको हो ।

आज एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उदघाटन गरे ।

उदघाटन खेलमा डिफेन्डिङ्ग च्याम्पियन सुदुरपश्चिमले भारतको दिल्ली युनाईटेडलाई शुन्यको विरुद्ध १ गोलले पराजित गर्न सफल भयो ।

सुदुरपश्चिमका खेलाडी एरोनले खेलको २० औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । यो पराजय संगै दिल्ली युनाईटेड प्रतियोगिताबाट बाहिरीएको छ । शुक्रवार नेपाल पुलिस क्लब र आयोजक टिम नेपालगंज ११ बीच खेल हुने छ ।

प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ्ग मस्याङ्गदी क्लब , नेपाल पुलिस, दिल्ली युनाईटेड, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगन्ज ११, सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहेको आयोजकले जनाएको छ ।

गत बर्ष १ लाख ५१ हजार रहेको पुरस्कार राशीलाई बढाएर विजेता टिमलाई ५ लाख र उपविजेता टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।