झापाका महिला अधिकारकर्मीले राखे – ७ बुँदे माग

काठमाण्डौ, ४ चैत्र । झापाका महिला नेतृहरुले महिला हक अधिकार रक्षा तथा समान प्रतिनिधित्व बारे ७ बुँदे माग अघि सारेका छन् ।

बिर्तामोडमा आज भएको अन्तरपार्टी महिला सञ्जाल झापाको बैठकले महिला अधिकारका ७ बुँदे माग तय गर्दै त्यसलाई अघि बढाउने निर्णय गरेको हो ।

जनसंख्याको आधारमा आधा बढी हिस्सा ओगटेका महिलाको हक, अधिकार रक्षा तथा सम्मानजनक र समान प्रतिनिधित्वका लागि आफूले अघि सारेका ७ बुँदे माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

संवाद समूहको सचिवालयको संयोजनमा भएको बैठकको निर्णय अनुसार सञ्जालले आन्दोलनरत संघीय गठबन्धनका जायज मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै तराई मधेशमा उत्पन्न समस्या समाधान गरी सहज र शान्तिपूर्ण तवरले सबै दलको सहभागितामा स्थानीय तहको निर्वाचनको वातावरण बनाउन माग गरेको छ ।

स्थानीय तहको निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु सहित सबै पदको उम्मेदवार संख्यामा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरिएको छ ।

संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईका अनुसार निर्वाचन प्रचारप्रसारलाई तडकभडकरहित कम खर्चिलो र मितव्ययी रुपमा सम्पन्न गर्नुपर्ने बताए ।

यसका लागि शिक्षालाई प्रभावकारी रुपले गाउँगाउँसम्म पुर्‍याउनु पर्ने सञ्जालको माग छ ।