झापाकाे भद्रपुरमा मापदण्ड बिपरित नाला निर्माण

पकंज शर्मा / झापा १ साउन  । झापाको भद्रपुर नगरपालिकाले जारी गरेको मापदण्ड विपरीत सडक डिभिजन कार्यालय दमकले नगर क्षेत्रमा गुणस्तरहीन पक्की नाला निर्माण गरिरहेकाे छ ।

भद्रपुर ६ स्थित नेपाल टेलिकम कार्यालय अगाडी निर्माण भइरहेको पक्की नाला सडक डिभिजनले असारे बजेट सक्न मात्र खोजेको स्थानीयको आरोप छ ।

नजिकै रहेको भिलमिले खोलासंग जोड्ने उदेश्यले निर्माण भइरहेको पक्की नाला मापदण्ड बमोजिम नबनेको स्थानीयको भनाई छ । निर्माण भइरहेको नालामा गिटी, बालुवा र सिमेन्टको मात्रा कम प्रयोग गर्नुका साथै तोकिएको इस्टिमेट अनुसार नबनाइएको स्थानीय राजेश गुप्ताले बताए ।

निर्माण भइरहेको नाला बाङ्गगो समेत बनाइदैछ । स्थानीयको पर्खाल भत्किने भएकोले पनि नाला बाङ्गगो बनाइरहेको छ । निर्माण भइरहेको नालाको गुणस्तर चेकजाचको लागि कुनै कर्मचारी समेत खटाइएको छैन ।  यस बारेमा नगरपालिकामा जानकारी गराउदा पनि कुनै सुनवाई नभएको स्थानीय गुप्ताले बताए ।

 

सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले नालाको कुल लागत ३ लाख ५३ हजार ३ सय ८ रुपैयामा रहेको र जेएनजे कन्ट्रक्सन दमकले असार मसान्तमा सक्ने गरी सम्झौता गरेको  बताए ।

१ सय १३ मिटर लम्बाई नालामा २२ दशमलव ७ घनमिटर हुनुपर्ने इन्जिनियर पौडेलकाे भनाई छ । डिभिजन कार्यालयसंग कुनै ठोस मापदण्ड नरहेकोले स्थानीयको सहकार्यमा नाला निर्माण भइरहेकोले यस बारेमा आफुलाई कुनै जानकारी भएकाे भन्दै पौडेल पन्छिए  ।