August 19, 2017

झपामा जारी फुटवल प्रतियाेगितामा नेपाल प्रहरी सेमीफाइनलमा

भद्रपुर, २६ फाल्गुन । नेपाल प्रहरी  झापा सदरमुकाम भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर माविको मैदानमा बिहीबार भएको पहिलो क्वाटर फाइनल खेलमा केवाईसी आँपगाछीलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपाल प्रहरी रानी सेमीफाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ आँपगाछीको पक्षमा रहे पनि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै प्रहरीले बाजी मा¥यो ।

खेलको २६ औं मिनेटमा आँगाछीका जर्सी नं १० का विजय राईले हेडमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा प्रहरीको प्रहारहरु खेर गएका थिए ।

दोस्रो हाफ प्रहरीको पक्षमा रह्यो । २० औं मिनेटमा १६ नं जर्सीका विजय विष्टले गोल गर्दै टिमलाई बराबरीमा ल्याए भने २ मिनेटको इञ्ज्युरी समयमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै जर्सी नं १० का अनुप लिम्बूले गोल गरी प्रहरीलाई २ १ को जीत दिलाए ।

खेल अवधिभर आँपगाछीका चार खेलाडीले पहेंलो कार्ड पाए । पहेंलो कार्ड पाउनेहरुमा राजन लिम्बू, सरोज कार्की, प्रविन शर्मा र राम रहेको प्रतियोगिता व्यवस्थापक दिलीप भूइँमालीले बताए ।

खेलको म्यान अफ द म्याच विजयी टिमका अनुप लिम्बूू घोषित भए । उनलाई पूर्व फुटबल खेलाडी राजु ठकुरीले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।

जिल्लाका १२ वटा टिम सहभागी भएको प्रतियोगितामा पहिलो विजेताले ४० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २० हजार नगदसहित ट्रफी प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रविकुमार मुखियाले बताए ।