October 20, 2017

ज्योतिको प्रस्तुति हेर्न उर्लियो जनसागर

रुकुम, २० फाल्गुन । रुकुम मुसिकोटमा चलिरहेको मध्यपश्चिम महोत्सव हेर्न अाएका दर्शकहरूलाई चर्चित गायिका ज्योति मगरले मख्खै पारिन ।

महोत्सवको ९ औँ दिन उनको प्रस्तुति हेर्न झण्डै १५ हजार दर्शक जम्मा भएका थिए । यस अघिका ठूलाे संख्यामा दर्शकहरु आउने गरेका थिए तर आज ज्योति मगर आउने भएपछि यति धेरै दर्शक जम्मा भएको आयोजक समितिका संयोजक टेक बहादुर पुनले बताए ।

उनले महोत्सवस्थल सानो भएका कारण दर्शकहरुको भीड व्यवस्थापन गर्न आयोजकलाई गाह्रो भएको बताए ।

ज्योतिले उहि मुलाको सिन्की उहि मुलाको चाना, जिम्माल बाउकी छोरी, सुर्खेत बुलबुले ताल जस्ता आधा दर्जन बढी गीतमा आफ्नो प्रस्तुति देखाएकी थिइन् । उनले आफ्नोे प्रस्तुति देखाउँदा दर्शकहरुले भीडबाट रुमाल र कपडा फालेपछि सुरक्षाकर्मी र स्वयंसेवकलाई भीड नियन्त्रण गर्न गाह्रो भएको थियो ।

छोटो कपडा लगाएकी ज्योतिले प्रस्तुति देखाउने क्रममा आफुले लगाएको ज्याकेट समेत फुकालेर नाच्दा भिड निकै उत्तेजित भएको थियो ।

दर्शकहरुको माग र भिडका कारण महोत्सवको समयावधि १ दिनका लागि थपिएको छ । मुल आयोजक समितिका अनुसार १२ गते उद्घाटन भएको महोत्सव २१ गते सम्म सञ्चालन हुने पुर्वनिर्धारित कार्यक्रम थियो । तर अब महोत्सव २२ गतेसम्म सञ्चालन हुनेछ ।

रुकुम उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवमा शनिबार चर्चित लोक गायक बद्री पंगेनी, गायिका शान्ति श्री परियार, गायक खुमन अधिकारी, कृष्ण रेउले र कामना ओली लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ ।