August 21, 2017

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबै २६ जनाको सनाखत

दिपेन्द्र शर्मा

जाजरकोट २७ फाल्गुन । जाजरकोटको सदरमुकाम खलंगा नजिकै छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत बोहरा गाँउमा बिहीबार भएको दुघर्टनामा परी मृत्यु भएका सबै २६ जनाको सनाखत भएको छ ।

घटनामा परी ३६ जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी १५ जनाको घटनास्थलमै, ९ जनाको रुकुमको चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचारका क्रममा र २ जनाको अस्पताल लाँदै गर्दा बाटोमा गरी जम्मा २६ जनाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए ।
मृत्यु हुनेमा लहँ ४ का ३१ वर्षीय रामबहादुर बस्नेत, साल्म ५ का ५० वर्षीय नन्दलाल जैसी, सीमा ९ का २१ वर्षीय मदन पुन, भेरीमालिका नगरपालिका १० का १३ वर्षीय सन्तोष राना, सोही नगरपालिका वडा नं ११ का २७ वर्षीय गोपाल सुनार, वडा नं ११ कै २८ वर्षीया सर्मीला सुनार, वडा नं ४ का २१ वर्षीय नविन चन्द र २५ वर्षीय गणेश बोहरा, वडा नं ३ का २६ वर्षीया शान्ता सुनार, दशेरा १ का २८ वर्षीय डिलबहादुर बुढाको मृत्यु भएको छ ।

त्यस्तै दशेरा २ का २९ वर्षीय मनीराम जैसी, भेरीमालिका नगरपालिका १२ का ५४ वर्षीय बहादुर भनारी, मजकोट ७ का दले तिरुवा, भेरीपालिका नगरपालिका १३ का ४२ वर्षीय हिउँसर गिरी, भेरीमालिका नगरपालिका ११ गोप्लो सुनार, पजारु ८ का ४८ वर्षीय नैने दमाई, भेरीमालिका नगरपाकिा ८ का चैते खत्री, जुंगाथापाचौर ५ का भरत विसी, गर्खाकोट २ का ५६ वर्षीय हरिबहादुर शाही, रुकुम चौरजहारी ४ का ५८ वर्षीय कृष्ण गिरी, स्वीकोट सल्यानका उदय बुढा, मजकोट ७ का ५३ वर्षीय कालो तिरुवा, लालसरी तिरुवा र कलहरी चनारा, साल्मा ५ का आइती कामी र जीते कामीको सनाखत भएको रहेको डिएसपी भावेश रिमालले जानकारी दिए ।

२३ जनाको चलानी लिएर गएको बसले बीचबाटोमा थप यात्रु राखेर ६२ जना सवार रहेको प्रहरीको भनाई छ । यात्रुले खचाखच भरिएको बसको ब्रेक फेल भएर दुघर्टना भएको प्रहरीको अनुमान छ ।
भेरीगंगा यातायात समितिको थोत्रो बस, यात्रुको अत्याधिक चाप, ओरालो बाटोमा तिव्र गतिमा चलाएकोले अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताएका छन् ।