जलविद्युत क्षेत्रमा लगानी गर्न चीन ईच्छुक

काठमाण्डौ १४ चैत्र ।  नेपालका लागी चिनियां राजदूत यु होङले  जलविद्युतका क्षेत्रमा लगानी गर्न चीन ईच्छुक रहेकाे बताएकी छिन ।

उर्जामन्त्री बर्षमान पुनलाई भेटन सिंहदरबार पुगेकी राजदुत हाेङले नेपालकाे उर्जा क्षेत्रमा लगानी गर्न चिनिया सरकार र चीनकाे निजी क्षेत्र तयार रहेकाे बताइन ।

राजदुत होङले चिनिया कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी समेत दिइन ।

उनले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनिया लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको समेत बताइन।

राजदूत होङले चिनियां कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा व्यक्त गरिन ।

उर्जामन्त्री पुनले रसुवा– केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुवै देशलाई फाईदा पुग्ने धारणा व्यक्त गरे ।

नेपालमा चिनिया लगानीकर्तालाई लगानीको वातावरण गर्न सरकार तयार रहेको भन्दै मन्त्री पुनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने समेत जानकारी दिए ।