October 19, 2017

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाण्डौ, २६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सीमान्तकृत र राज्यबाट पछाडि परेका वर्ग र क्षेत्रमा सञ्चालन गर्ने स्वास्थ्य सम्बन्धी कार्यमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

शनिबार काठमाण्डौमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको ४३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत व्यक्त गरे ।

उनले हाल नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको गुठीसँग सम्बन्धित समस्या तत्काल समाधान गर्न पहल गर्ने आश्वासन पनि दिए । दाहालले सहज रुपमा आँखाका बिरामीको उपचारका लागि अस्पतालले गरेको कार्यको प्रशंसा पनि गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले आँखाको अप्रेसन गरिएको एक बिरामीको आँखामा लगाइएको पट्टी खोलेर बार्षिकोत्सवको उद्घाटन गरेका थिए । वार्षिकोत्सवको अवसरमा ४० भन्दा बढि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।