जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

भावुक योगी,

बर्दिया, फाल्गुन २५ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएकाे छ ।

हात्तिको आक्रमणमा परी बबई नगरपालिका ३ कर्मलाका १८ वर्षिय विजय नेपालीको ज्यान गएको हो ।

मंगलबार राती निकुञ्जबाट कर्मला गाउँमा आएको जंगली हात्तीलाई धपाउन घर बाहिर निस्केका नेपालीलाई हात्तीले कुल्चिएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले बताएको छ ।

जंगली हात्तीले निकुञ्ज किनारमा लगाएको सुधारीएको विद्युतीय तारबारलाई समेत चुँडालेर गाउँमा पसेर आतंक मच्चाएको हो ।

बर्दिया निकुञ्जबाट आएका जंगली हात्तीले केही दिन यता निकुञ्ज आसपास क्षेत्र बबई नगरपालिका, सुर्यपटुवा, ठाकुरद्वार लगायतका गाँउमा अन्नवाली नोक्सान र घरगोठ भत्काएर आतंक मच्चाउन थालेका छन् ।

जँगली हात्ती गाउँमा पसेर नोक्सानी पुर्‍याउन थालेपछि स्थानीयवासी आाफ्नो बालीनाली जोगाउन ज्यान जोखिममा राखी हात्ती धपाउन रातभर बस्ने गरेका छन् ।
आक्रोशित स्थानियवासीले निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिती अन्तर्गत श्रीरामनगर उपभोक्ता समितिमा समेत तालाबन्दी गरेका छन् ।

ज्यान, घरगोठ र खेतबारीको सुरक्षा गर्नु पर्ने माग गर्दै आक्रोशित स्थानियवासीले निकुञ्ज विरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिएर राजमार्ग बन्द गराएका हुन् ।

स्थानीयवासीले बिहान ८ बजे देखि पूर्वपश्चिम राजमार्ग समेत बन्द गरेका थिए । तर मृतक नेपालीका बुवा विश्राम नेपाली सहित स्थानियवासी, निकुञ्जका निमित्त संरक्षणकर्मी अशोक भण्डारी, बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष नेत्रराज आचार्य सहितको वार्ता टोलीबाट सहमति भएपछि अवरुद्ध राजमार्ग खुलेको छ ।