October 19, 2017

जंगली हात्तीकाे आक्रमणमा परी १ काे मृत्यु ६ घाइते

दिनेश शर्मा
राजविराज, २२ चैत्र । सप्तरीको हनुमाननगर बजारमा जंगली हात्तीको आक्रमणमा परी मंगलबार १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट हनुमाननगर ४ का २५ वर्षिय रोशन झाको मृत्यु भएको हो । पुरानो सदरमुकाम हनुमाननगर बजारमा बिहान एउटा जंगली हात्ती प्रवेश गरी आतंक मच्चाएको हो ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट बजार प्रवेश गरेको हात्तीको आक्रमणबाट हनुमाननगर बजारका संजिव साह, कालिचरण साह, नविना खातुन र संजय साफि घाइते भएका छन् । यसैगरी मो. इस्ताख र वसन्त मण्डल पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये संजिव र कालिचरणको अवस्था चिन्ताजनक भएपछि उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बाँकी घाइतेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उज्यालो भएपछि पसेको जंगली हात्तीले स्थानीयवासीलाई लखेटेर आक्रमण गरेको हो । प्रहरी र स्थानीयको सहयोगमा हात्तीलाई कोशी ब्यारेकतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।