August 22, 2017

छैटौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारबाट काठमाडौंमा सुरु हुने

काठमाण्डौ, २ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा छैटौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा चल्ने उक्त मेला ७ चैत्रसम्म चल्ने आयोजकले जनाएको छ ।

सो मेला नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा आयोजना गरिएको हो ।

महासंघको सदस्यहरु– नेपाल हस्तकला महासंघ, नेपाल जडीबुटी उत्पादक संघ तथा हिमाली आयोजना यस वर्षको मेलाको सहआयोजक रहेका छन् ।

यस वर्ष मेलामा चीन, भारत लगायत बंगलादेश, पाकिस्तान, थाइल्यान्ड आदि देशका कम्पनीहरूको सहभागिता रहनेछ ।

मेलामा चीनका ८५, भारतका १०, पाकिस्तानका २०, बंगलादेशका ५०, थाइल्यान्डका दुईवटा स्टल रहनेछन् । मेलामा ३५ वटा स्टलमार्फत नेपाली जडीबुटीका उत्पादनहरू प्रदर्शन गरिनेछ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टिलका छुट्टाछुट्टै स्टलहरू रहनेछन् ।

साथै महासंघकाे कृषि उद्यम केन्द्र अन्तर्गतको हिमाली आयोजनाका ७० वटा स्टलमार्फत कृषि उत्पादनहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।