October 19, 2017

चैत्र ५ देखि १९ सम्म हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइने

काठमाण्डौ, ३० फाल्गुन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आगामी चैत ५ गतेदेखि १९ गतेसम्म ३० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ ।

सोमबार काठमाण्डौमा गरिएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख डा. भीम आचार्यले चैत ५ देखि ७ गतेसम्म २५ जिल्लामा र बाँकी ५ जिल्लामा चैत १७ देखि १९ गतेसम्म औषधि खुवाइने जानकारी दिनुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने यस रोगलाई सन् २०१८ सम्ममा नियन्त्रण गरिसक्ने योजना बनाइएको छ ।

सन् २००३ देखि हात्तीपाइले रोगको औषधि खुवाउन सुरु गरिएको थियो । हाल ६१ जिल्लामा हात्तीपाइलेको किटाणु रहेको इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

दुई वर्ष नपुगेका बालबालिका र गर्भवती, सात दिनसम्मका सुत्केरी, छारेरोगी तथा सिकिस्त बिरामीलाई भने औषधि नखान भनेको छ ।

३० जिल्लाका एक करोड मानिसलाई औषधि खुवाउने लक्ष्य लिइएको छ । जसका लागि ४० करोड रकम छुटाइएको महाशाखाले जनाएको छ ।

हात्तीपाइले औषधी खुवाइने ३० जिल्लाहरु–
पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, ललितपुर, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुला ।