August 21, 2017

चैते छठको आज तेस्रो दिन, उत्साहपूर्वक मनाइँदै

काठमाण्डौ, २० चैत्र । मिथिलाञ्चलमा महापर्वको रुपमा मनाइने छठको अर्को रुप चैते छठ जनकपुर सहित तराई मधेशको जिल्लाहरुमा श्रद्धाभक्ति पूर्वक मनाइँदै छ ।

मुख्य छठ कार्तिक महिनामा मनाउने गरिए पनि त्यसकै अर्को रुप चैत्र महिनामा समेत मनाइने परम्परा रहेको छ ।

चैते छठ मनाउन श्रद्धालुहरु बिहानै देखि जनकपुरका पवित्र तलाउ तथा गंगा सागर, धनुष सागर, दशरथ तलाउ, अंगराज सरमा पूजा सामग्री सहित पुगेका छन् । धार्मिक आस्थाका साथै छोरा र नातीको दीर्घायुको कामना सहित चैते छठ मनाउने गरेको व्रतालु ललिता ठाकुर बताउँछन् ।

श्रद्धा र निष्ठाका साथ मनाइने चार दिवसीय छठको आज तेस्रो दिन अस्ताउँदो सूर्य लाई अर्घ दिइन्छ र भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व सम्पन्न गरिन्छ ।

बिहानै देखि जनकपुरको प्रमुख एेतिहासिक तथा धार्मिक पोखरीहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।