November 19, 2017

चुनाव पछि स्थिर बामपन्थी सरकार : सुवास नेम्वाङ

काठमाण्डौ २९ कार्तिक । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले बाम गठबन्धनको बहुमत आउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । विगतमा बामपन्थीले राम्रोसँग सरकार संचालन गर्न नसकेकाले देश विकास हुन नसकेकाले यसपटक जनताले बामपन्थीलाई बहुमत प्रदान गर्ने दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा बोल्दै नेता नेम्वाङले कांग्रेसका नेताहरु गैर जिम्मेवार बनेर साम्यवादको हल्ला फैलाएकाे आरोप लगाए । लोकतान्त्रिक संविधान अनुसार नै बामगठबन्धनले सरकार चलाउने स्पष्ट पार्दै नेता नेम्वाङले जनतालाई भ्रममा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गैर जिम्मेवार बनेर संविधान विपरित बोलेको उनले आरोप लगाए । विगतमा धेरै सरकार परिवर्तन हुने गरेकाले अब बामगठबन्धनको स्थिर सरकार जनताले देख्न चाहेको नेम्वाङको जिकिर छ । “यो देशमा स्थिरता र समृद्धि ल्याउनका लागि जनतामा लहर आएको छ ।” नेम्वाङले भने ।

सरकारले मन्त्रीपरिषद विस्तार र कर्मचारी सरुवा बढुवा गरेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको आरोप नेम्वाङले लगाए  । एमाले–माओवादी मिल्दैमा कांग्रेसले अनावश्यक हल्ला फैल्याउनु जरुरी नरहेको नेम्वाङले बताए । “कांग्रेसले जुनसुकै दलसँग गठबन्धन गर्दा पवित्र हुने, हामी मिल्दा कसरी अपवित्र ? यो देशमा दलहरु मिल्न पाइन्छ कि पाइदैन ।” उनले प्रश्न गरे ।