August 17, 2017

चुनाव चिह्नकाे माग गर्दै २४ दल एकजुट

काठमाण्डौ, १० चैत्र । व्यवस्थापिका संसदमा प्रतिनिधित्व नगरेका २४ राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचन ऐनप्रति आपत्ति जनाएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसहित संसदमा नरहेका २४ राजनीतिक दलहरुले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरेका हुन् ।

स्थानीय तह निर्वाचन ऐनले संसदमा नरहेका दलहरुलाई दलीय हैसियतमा निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरेको भन्दै उनीहरुले आपत्ति पनि जनाएका छन् ।

उनीहरुले निर्वाचनमा भाग लिँदै आएका राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने गरी आएको स्थानीय निर्वाचन ऐन खारेज गर्न पनि माग गरेका छन् ।

साथै सबै दललाई चुनाव चिन्ह प्रदान गरी निर्वाचनमा जाने वातावरण तत्काल सुनिश्चित गर्न पनि सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

दलीय पहिचानको आधारमा निर्वाचनमा भाग लिन पाउने वातावरण तत्काल निर्माण गर्न सरकार र निर्वाचन आयोगसँग माग गरिएको नयाँ शक्ति पार्टी, नेपालका नेता परशुराम तामाङले जानकारी दिए ।

बहुदलीय व्यवस्थाको विश्वव्यापी मान्यता विपरीत स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था गरिएको २४ दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।