August 24, 2017

चुनाव चिन्हका लागि राजपाकाे सरकारसँग अाग्रह

काठमाण्डौ १४ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले दल दर्ता र निर्वाचन चिह्न उपलब्ध गराउन आवश्यक पहल गर्न सरकारसंग आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको छलफलमा राजपा नेपालका नेताहरुले आफ्नो पार्टीलाई मान्यता दिलाई पार्टीकै चुनाव चिह्न सुनिश्चित गरिदिन प्रधानमन्त्रीसंग आग्रह गरेका हुन् ।

सबै राजनीतिक दललाई सहमतिमा ल्याई राष्ट्रिय राजनीतिमा समावेश गर्न पनि सकारको ध्यानाकर्षण गराएका छन्। छलफलमा जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिका र वडाको संख्या वृद्धि गर्ने पूर्वसहमति विपरीत सरकारले काम गरेको भन्दै नेताहरुले त्यो आफूहरुलाई मान्य नहुने बताएका थिए।

सरकारले त्यस्तो निर्णय नभएको भन्दै सबैको सहमतिमा केन्द्रबाट नै स्थानीय तहको संख्या बढाउने तयारी गरिरहेको स्पष्ट पारेको राजपा नेपालको अध्यक्ष मण्डलमा रहेका नेता राजेन्द्र महतोले जानकारी दिए । बैठकमा संसद सञ्चालन र संविधान संशोधन विधेयक पास गराउने लगायतबारे पनि छलफल भएको महतोले बताए ।
प्रधानमन्त्रीले भोली सर्वदलिय बैठक बोलाई संसोधनमा बिषयमा सहमति खोज्ने प्रयास गर्ने निर्णय भएको बैठकपछि नेताहरुले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र राजपा नेपालका शीर्ष नेताहरु सहभागी थिए।