November 19, 2017

चुनाव अवधीभर प्रदेश नं २काे नेपाल-भारत सीमा क्षेत्र बन्द

राम कुशवाहा / वीरगंज ३१ भदौ । निर्वाचनलाई मध्यनजर गर्दै  २ नम्बर प्रदेशका आठ जिल्लासंगकाे नेपाल भारत सीमा बन्द गरिएको छ ।

निर्वाचन हुने समय भन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने क्षेत्रकाे सीमा बन्द गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बताए ।

खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको पौडेलले बताए ।

पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले भारतीय सुरक्षा अधिकारीसंग सहकार्य गरेर सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए । अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालिमप्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालिम प्राप्त कुुकुर परिचालन भएको पर्साका प्रहरी प्रवक्ता प्रेम बहादुर शाहीले बताए ।

आज बिहानदेखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् । अाज सांझबाट पैदल यात्रुहरुलाई पनि अावागमनमा रोक लगाइएकाे छ ।