August 19, 2017

चुनावको विषयमा आशंका नगर्न प्रधानमन्त्रीकाे आग्रह

काठमाण्डौ, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावका विषयमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

मंगलबार सिंहदरवारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा उनले चुनाव सफल पार्न सबैलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह पनि गरेका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका प्रचण्डले बैठकमा आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने बताएका छन् ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी दिएका छन् । बैठकमा माओवादी सासंदहरुले सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरेका थिए ।

बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद् चालु अधिवेशनका विषयमा सातै प्रदेशका प्रदेश संयोजकले आ–आफ्ना धारणा राखेका थिए । संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौती, साङ्गठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार पार्टी सरकारमा गएपछि दलको बैठक बस्न नसकेको प्रति सांसदहरुले विरोध गरेका थिए । सरकार गठनपछि बसेको यो नै माओवादी दलको पहिलो बैठक हो ।