October 23, 2017

चुनावको बेला सतर्क हुन एमालेका उपमहासचिव भुसालको आग्रह

नरेश के.सी./ भैरहवा, चैत्र २९ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले विद्यार्थीहरुलाई चुनावको बेला सतर्क हुन आग्रह गरेका छन् ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसमा नव वर्ष २०७४ को पुर्वसन्धयामा आयोजित शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै  भुसालले भने, ‘चुनाव नजिकिँदै छ यस्तो बेला बदमास र ठगहरु सोझा जनतालाई झुक्काएर मत तान्न कोशिस गर्नेछन् । तपाई पढेलेखेकाहरु होसियार हुनुहोला ।’

नेता भुसालले भने, ‘म तपाईहरुलाई एमाले बन्नुस् पनि भन्दिन, अनेरास्ववियु पनि बन्नुस् भन्दिन तर राम्रो काम गर्नेलाई सहयोग गर्नुस, साथ दिनुस् ।’ हिजो नाकाबन्दीको बेला भारतको प्रतिरोध गर्ने एमाले, वृद्धा र अशक्तको लागि काम गर्ने एमाले, विकासको संवाहक एमालेलाई छाडेर यो मुलुकमा अन्य दल नभएको उनको तर्क थियो ।

दूरदर्शी नेताको अभाव भएको बताउँदै भुसालले विश्वविद्यालयका विद्यार्थीहरुले लहड र सानो स्वार्थको पछि नलागि मुलुक बनाउने दल र नेतालाई सहयोग गर्नुपर्ने बताए ।