August 19, 2017

चीन जोडनेगल्छी– मैलुङ सडक खण्ड विस्तार कार्य तीव्र

काठमाण्डौ, ११ चैत्र । नेपाल र चीन जोड्ने प्रमुख नाकाको रुपमा विकसित भइरहेको रसुवागढी नाका जोड्नका लागि सडक पूर्वाधार निर्माणको कामलाई थप तीव्रता दिइएको छ ।

त्यस अन्तर्गत धादिङको गल्छी देखि रसुवाको मैलुङ जोड्ने सडक खण्डको विस्तार कार्य शुरु भइसकेको र दुई वर्षभित्र सम्पन्न हुने सडक विभागले बताएको छ ।

त्रिशुली नदीको किनारै किनार निर्माण गरिन लागेको सो सडकले दुई देशबिचको व्यापार निकै सहज बनाउने अपेक्षा व्यवसायीहरुको छ ।

रसुवागढी नाकाबाट हिमालय सीमापार व्यापारमा लागेका व्यवसायीहरु गल्छी–मैलुङ सडक निर्माणमा ढिलाइ भएको भन्दै चिन्तित भएका छन् । तर सडक विभागको भनाइमा ४६ किलोमिटर लामो गल्छी–मैलुङ सडक निर्माणको कामले गति लिइरहेको छ ।

सडक विभागका उपमहानिर्देशक रविन्द्र नाथ श्रेष्ठले भने, भर्खरै सर्भै सकेर शुरु भएको छ । यो बाटो हामीले दुई वर्षभित्र दुई लेनको हुने गरी विस्तार गर्ने हो ।
रसुवागढी जोड्ने ८२ किलोमिटर लामो सडकलाई गछी–मैलुङ र मैलुङ–स्याफ्रु गरी बाँडिएको सडक विभागको भनाइ छ ।

मैलुङ–स्याफ्रुको २० किलोमिटर खण्डको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भन्दै श्रेष्ठले भने, सो खण्डको सेनाले ट्रयाक खोल्ने काम गर्दैछ । करिब ९ किलोमिटरको ट्रयाक खोलिसकिएको छ ।

रसुवागढी जोड्ने सडकलाई उत्तरतर्फ स्याफ्रुदेखि सिमावर्ती रसुवागढी नाका सम्मको ९ किलोमिटर खण्डको स्तरोन्नति गर्ने बारे चिनियाँ पक्षसँग सहमति भइसकेको छ ।
झन्डै दुई वर्षअघि गएको विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकामार्फत आयात निर्यात हुने क्रम ह्वात्तै बढेको हो ।

तर रसुवागढी जाने भरपर्दो सडक नहुँदा नेपालले पर्याप्त फाइदा लिन नसकेको नेपाल–चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी क्षेष्ठले दुखेसो व्यक्त गरे ।
उनले भने, एघार दिन लगाएर उहाँ पुग्नु र यहाँबाट आउनुको भाडा पनि उस्तै उस्तै हुन आयो ।बाटो बनेको भए सामानहरु छिट्टो आउने र अन्य खर्च पनि निकै घट्ने उनले बताए । सडक विभागका अनुसार गल्छी–रसुवागढी सडकको अनुमानित लागत करिब चार अर्ब रुपैयाँ रहेको छ ।

सो सडक निर्माण पूरा नहुँदा चीनबाट आउन सक्ने पर्यटकहरु पर्याप्त मात्रामा नेपाल भित्र्याउन नसकिएको व्यवसायीहरु बताउँछन् । बिबिसी नेपाली सेवाबाट