August 17, 2017

चीनिया रक्षामन्त्री र प्रधानसेनापति क्षत्रीबीच भेटवार्ता

काठमाण्डौ, ११ चैत्र । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार भेटवार्ता भएको छ ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित थियो ।

भेटवार्तामा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनले सो अवसरमा सम्मान गारतको निरीक्षणसमेत गरेका थिए ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।