August 16, 2017

चिनियाँ रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव

काठमाडौ, १६ बैशाख । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको वान बेल्ट वान रोडु अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताएका छन् ।

चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्रस्ताव राख्नुभएको छ । हामी चीनको यो अवधारणामा सहभागी भएर लाभ लिन चाहन्छौं।’
चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड अवधारणाअनुसार चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य छ ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाएका थिए । यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।