October 24, 2017

चिनियाँ ठेकेदारले झलनाथ खनालका छोराको कम्पनीलाई हटायो

भैरहवा, ८ चैत्र । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले एमाले नेता झलनाथ खनालका छोरा निर्भिक र युवासंघ नेता राजु गुरुङको कम्पनी नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालीलाई ‘सब कन्ट्राक्टर’ बाट हटाएको छ ।

नर्थ वेष्टले कम्पनीले गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री सप्लाईको जिम्मा पाएको थियो । तर, पछिल्लो केही दिनदेखि निर्माण सामाग्री सप्लाई रोकेर विमानस्थल निर्माण अवरोध श्रृजना गरेपछि चिनियाँ कम्पनीले उक्त कम्पनीलाई हटाएको हो ।

चिनियाँ कम्पनीले अबदेखि आफ्नो काम आफैले गर्ने बताएको छ । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनल ०७१ सालमा विमानस्थलको निर्माणको ठेक्को पाएको थियो ।

तर, उक्त कम्पनीले नर्थ वेस्ट इन्फ्रा नेपाल नामक कम्पनीलाई निर्माण कार्यको जिम्मा दिएको थियो ।चिनियाँ कम्पनी र नर्थ वेस्ट इन्फ्रा प्रालिबीच बिवाद भएर काम रोकिएपछि आयोजना प्रमुखले ठेक्का तोड्ने चेतावनी दिएका थिए ।

अवस्था यस्तै रह्यो भने अर्को टेण्डर आहृवान गरेर विमानस्थल निर्माणको लागि अन्य कम्पनीतर्फ पनि जान सक्ने आयोजना प्रमुख शर्माले बताए ।