June 23, 2017

चितवनमा गौरक्षा महायज्ञ

देवर्षि

फागुन ८ चितवन । चितवनको नारायणी नदी किनारामा विराट गौरक्षा महायज्ञ चलिरहेको छ ।

स्थानीय जातका वैदिक गाईको संरक्षणको लागि गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले गौरक्षा महायज्ञ भइरहेको बताइएको छ ।संगीतमय ढङ्गमा पण्डित दीपक सापकोटा र गोव्रती योगीसोमराजबाट भइरहेको सो गौकथाले मान्छेहरुको ध्यान गाईको महत्त्वतर्फ आकर्षण गराईरहेको आयोजकले बताएका छन् ।
महायज्ञमा शिव, श्रीमद्भागवत, देवीभागवत्, गणेश, ब्रह्म गरी पञ्चमहापुराणको पाठ पारायण भइरहेको छ भने महारुद्राभिषेक, सतचण्डी, हवन लगायतका हिन्दु पद्धतिका र बुद्धिष्ट पद्धतिका बज्राचाय र लामा गुरुहरूबाट अष्टमङ्गल शान्ति पाठ भइरहेको छ ।

महायज्ञ मूल आयोजक समितिका सह–संयोजक विनु रायमाझी पौडेलका अनुसार महायज्ञ फाल्गुण ३ गते शुरु भएको र १३ गते महाशिवरात्रिको भोलीपल्ट बिहान समापन रहेको छ ।

देशभरीका स्थानीय जातिका गाईहरुको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ भइरहेको उनले बताएका छन् ।

आयोजकले गाईको बारेमा शोधखोज गरेका विशेष अन्वेषक वक्ताहरुलाई समेत उपस्थित गराई विशेष प्रवचन गराउने गरेका छन् । ॐ कार परिवारका विज्ञहरुले पनि सो गोरक्षा महायज्ञको औचित्य वर्तमानमा उपयुक्त रहेको बताएका छन् ।

सनातन धर्म भित्रका हिन्दु–बौद्ध आदि संप्रदायको मान्यतामा गाईको महत्त्वको बारेमा लामाले आफ्नो विश्लेषणात्मक अभिव्यक्ति दिँदै गर्दा मान्छेहरु स्तब्ध देखिन्थे । लामाले हिन्दु–बौद्ध समुदाय तथा धार्मिक मान्यताको विषयमा स्पष्टसँग प्रमाणहरु समेत दिएर अन्तरसम्बन्धको बारेमा बताएका थिए । पूर्व सांसद तथा धार्मिक नेता शङ्करप्रसाद पाण्डे, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेललगायतका व्यक्तिहरु यज्ञको दर्शन गर्न आएको आयोजकले बताएका छन् ।

हिन्दु ॐकार भोलन्टियर्सको आयोजनामा भएको सो महायज्ञको बारेमा शुरुमा मान्छेहरुले खासै वास्ता नदेखाएपनि महायज्ञका प्रवचक, कथाकार एवं विभिन्न अधिकारीहरुको प्रस्तुति पछि महायज्ञले मान्छेहरुलाई बिऊँझाउन थालेको पाइएको छ ।