October 20, 2017

चार श्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’

काठमाडौं, १० वैशाख । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो सातौं वार्षिक उत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ को घोषणा गरेको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विभिन्न चार विधामा सो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सङ्गीत, नाट्य, नृत्य र लोक सङ्गीत–नाट्य विधाहरुमा प्रदान गरिने पुरस्कारको राशी जनही एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

यस वर्षको नाट्य विधा तर्फको पुरस्कार नाटक तथा रङ्गकर्ममा लामो समयदेखि योगदान पुर्‍याएर बापत् वरिष्ठ नाटककार तथा रङ्गकर्मी  अशेष मल्ललाई प्रदान गरिने भएको छ भने सङ्गीत तर्फको पुरस्कार नेपाली गीत सङ्गीतको संरक्षण एवम् प्रबर्द्धनमा निरन्तर योगदान पुर्‍याएर बापत् वरिष्ठ गायक तथा सङ्गीतकार नारायणभक्त श्रेष्ठ (रायन) लाई प्रदान गरिने भएको छ ।

यस्तै नृत्य तर्फको पुरस्कार नृत्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएर बापत् वरिष्ठ नृत्यकार एवम् नृत्य निर्देशक राधेश्याम प्रधानलाई र लोक गीत तर्फको पुरस्कार लामो समयदेखि लोक गायनमा योगदान पुर्‍याएर बापत् चन्द्रकला शाहलाई प्रदान गरिने भएको छ ।

‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ सम्माननीय राष्ट्रपतिबाट विशेष समारोहका बीच प्रदान गरिने छ ।