चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

काठमाण्डौ, ८ चैत्र । लामो बहसपछि सर्वोच्च अदालतले विवादित प्रहरी महानिरीक्षक नियुक्तिको टुंगो लगाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको अन्तिम टुंगो लगाउँदै महानिरीक्षकमा बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको हो ।

सर्वोच्चको फैसलासँगै चन्दलाई पदबहाल हुने बाटो रोकिएको छ । कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा बढुवा गर्न निर्देश गर्दै सर्वोच्चले चन्दको बढुवा रोकेको हो ।

सर्वोच्चको फैसलाले अब पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई प्रहरी महानिरीक्षक हुने बाटो खुलेको छ ।

पटक पटकको सुनुवाईपछि अन्तरिम आदेशलाई सदर गर्दै न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले दुवै डीआईजीको कार्यसम्पादन मूल्यांकनको फाइल मगाएको थियो ।

 फैसला हेर्न यहाँ क्लिक गर्नुहोस्