August 23, 2017

चतरामा ६ सय साधकले एकसाथ साधना गर्ने

अमर काफ्ले/ सुनसरी, १० चैत्र । सुनसरीको चतरा धाममा आयोजना हुन लागेको रामार्चन महोत्सवमा देश विदेशका गरी ६ सय बढी साधकहरुले एकसाथ साधना गर्ने भएका छन् ।

रामनवमी तथा हनुमान जयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा नेपालका र छिमेकी मुलुक भारत सहित अमेरिका, क्यानडा र बेलायतका ६ सय साधकहरुको सहभागिता रहने बताइएको छ ।

जगद्गुरु श्री रामानन्दाचार्य सेवापीठले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीका बारेमा जानकारी गराएको हो ।

सेवापीठका अध्यक्ष गणेश सुब्बाले चैत्र १५ गतेबाट २९ गते सम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको जानकारी गराए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव अवधिभर महायोगी सिद्धबाबाले खण्ड समाधी लिनेछन् ।

महोत्सव अवधिभर महायोग साधना तथा मन्त्र जप, रामायण पाठपारायण तथा कथा प्रवचनका साथै महायोग साधना विशेष प्रशिक्षण जस्ता कार्यक्रमको आयोजना गरिने सेवापीठका सदस्य श्याम पौडेलले जानकारी दिए ।