October 24, 2017

घर जग्गा प्रमाणको अभावले अनुदान हुन नसकेका भूकम्प पीडितका लागि आवश्यक पहल गरिने

काठमाण्डौ, २२ चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा जग्गा सम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागि पनि आवश्यक व्यवस्था मिलाउन पहल गर्ने निर्णय गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलबार बसेको बैठकले लालपुर्जा लगायत जग्गासम्बन्धी प्रमाणको अभावमा अनुदान सम्झौता हुन नसकेका लाभग्राहीको तथ्याङ्क यकिन गरि के कस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने सुझाव समिति गठन गरिएको छ ।

भूकम्प प्रभावित १४ जिल्लामा पहिचान भएका ६ लाख ३६ हजार ३६ घरधुरी लाभग्राही मध्ये ५ लाख ४८ हजार २ सय ५५ लाभग्राहीसँग मात्र निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको थियो ।

लालपुर्जा नभएका तथा जग्गा सम्बन्धी प्रमाणको अभावमा पहिचान नभएका ७७ हजार ७ सय ८१ जना लाभग्राहीस“ग आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता हुन सकेको छैन ।

यसैगरी कार्यकारी समितिको बैठकले भूकम्प कम प्रभावित १७ जिल्लामा सर्वेक्षण सकिएका मध्ये दोस्रो चरणमा थप ४४ हजार ४ सय ४३ घरधुरीलाई लाभग्राही सूचिमा समावेश गरेको छ ।

लाभग्राही सूचिमा परेकालाई निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले आवश्यक प्रक्रिया र मापदण्ड पुर्याएर ३ लाख रुपैयाँ प्रदान गर्ने छ ।

यसअघि पहिलो चरणमा १५ हजार ७ सय ४३ जनालाई कार्यकारी समितिको बैठकले लाभग्राही सूचिमा समावेश गर्न स्वीकृति दिएको थियो ।