गोपाल गिरी स्मृती पत्रकारिता पुरस्कार महेशचन्द्र गौतम र ध्रुव साहलाई

राम कुशवाहा/ वीरगंज १ फागुन । नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको गोपाल गिरी स्मृती पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार महेशचन्द्र गौतम र ध्रुव साहलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल संयोजकत्वको छनौट समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई पुरस्कार दिने निर्णय गरिएको थियो ।

पुरस्कृत पत्रकार गौतम वीरगञ्जबाट प्रकाशित हुँदै आएको सर्व राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व उपाध्यक्ष ध्रुव साह रेडियो वीरगञ्जका सञ्चालक हुन् । पुरस्कृत पत्रकारहरुलाई नगद २५/२५ हजार राशी सहित सम्मानपत्र प्रदान गरिएको छ ।

गोपाल गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । वीरगञ्जको मेयर रहेको बखत गिरीलाई २०६० साल माघ १ गते तत्कालिन नेकपा माओवादीका कार्कर्ताले गोली हानी हत्या गरेको थियो ।  गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार स्थापना गरेको थियो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनीधि सभा सदस्य बिमल श्रीवास्तव, प्रदिप यादव, गोपाल गिरीका छोरा गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगी, पुरस्कृत पत्रकारद्वय लगायतले गिरीको योगदानको बारेमा चर्चा गरेका थिए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा हिमालय टेलिभिजनका क्षेत्रिय ब्युरो प्रमुख बिजय कुशवाहाको संयोजकत्वमा इकोनोमिक्स जर्नालिष्ट एशोसिएसन (ईजा) गठन गरिएको छ ।