August 23, 2017

गृहमन्त्री निधी ‘आतंकवाद प्रतिवाद सम्बन्धी सम्मेलन’ का लागि भारत प्रस्थान

काठमाण्डौ, ३० फाल्गुन । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले सबैको सहमतिमा संविधान संसोधन अघि बढ्ने बताएका छन् ।

आफ्नो अनुकुल संविधान संसोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेशी मोर्चाको अल्टिमेटम आएको सन्दर्भमा निधीले मधेशी मोर्चाको पनि सहमतिमा नै संसोधन प्रक्रिया अघि बढ्ने बताए ।

आतंकवाद प्रतिवाद सम्बन्धी सम्मेलनमा भाग लिन सोमबार भारत जानु अघि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले मधेशी मोर्चाको सहभागीतामा संशोधन विधेयक दुई तिहाईले पारित हुने विश्वास व्यक्त गरे ।

सहमतिका लागि कांग्रेसले प्रयास गरिरहेको भन्दै संशोधनको विषयमा एमाले पनि सहमतिमा आउने दाबी गरे ।

चैत १ देखि ३ गतेसम्म इन्डिया फाउन्डेसनले गर्न लागेको आतंकवाद प्रतिवाद सम्बन्धी सम्मेलनमा भाग लिन निधि भारत गएका हुन् ।

उक्त सम्मेलनमा भाग लिन नेपाल प्रहरीका डीआईजी बमबहादुर भण्डारी, गृह मन्त्रालयका सहसचिव वालकृष्ण पन्थी र केही राजनीतिक दलका नेताहरु पनि भारत प्रस्थान गरेका छन् ।

भारत भ्रमणका क्रममा निधिले केही राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम तय भएको छ ।

निधी प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराज, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, कांग्रेस आईकी अध्यक्ष सोनियाँ गान्धी लगायतसँग भेट गर्ने कार्यक्रम तय भएको गृहमन्त्रालयले जनाएको छ ।