October 23, 2017

गुल्मीमा एमाले र माअाेवादी केन्द्रबीच चुनावी तालमेल

शिवलाल सुवेदी / गुल्मी ९ बैशाख  । स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल हुने भएको छ । एमाले र माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरुबीच भएको छलफलपछि जिल्लामा एमाले र माओवादी केन्द्रबीच तालमेल गरेर निर्वाचनमा सहभागी हुने सहमती भएको छ ।
दुई पार्टीबीच भएको सहमती अनुसार माओवादी केन्द्रलाई ३ गाउँपालिकामा प्रमुख तथा ६ गाउँपालिकामा उपप्रमुख सहित २५ वटा वडामा उम्मेद्वार दिने सहमती भएको छ ।

नेकपा एमालेले २ नगरपालिकामा प्रमुख , ६ उपप्रमुख सहित ६८ वडा अध्यक्षमा सहमती भएको छ । सहमती अनुसार एमालेको प्रमुख भएको गाउँपालिकामा माओवादी केन्द्रबाट उपप्रमुख पाउने तथा माओवादी केन्द्रको प्रमुख भएको गाउँपालिकामा एमालले उपप्रमुख पाउने सहमती भएको एमाले गुल्मीले जनाएको छ ।

सहमती अनुसार माओवादी केन्द्रलाई धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा प्रमुख पाउने भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज बिरबहादुर कार्कीले बताए । एकल चुनाव लडे गुल्मीमा नेपाली काँग्रेस र एमालेविच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
माओवादी केन्द्रले नेपाली काग्रेससगँ तालमेल गरेर जिल्लामा चुनावी मैदानमा जाने तयारी गरिहेको भएपनि अन्तिम समयमा आएर एमालेसगँ चुनावी तालमेल गरेको हो । वाम एकताका लागि सहमती गरिएको एमाले कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तले बताए ।