October 19, 2017

गुल्मीका १ सय १७ जना विद्यार्थीले एसइई परीक्षा दिन पाएनन्

शिवलाल सुवेदी,

गुल्मी, २ चैत्र । बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षामा गुल्मीका १ सय १७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । वञ्चित हुने मध्ये छात्रा ६१ र छात्र ५६ रहेका छन् ।

७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले विद्यालय छोडेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन । सम्बन्धित निकायको बेवास्ताका कारण पनि यी विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन । गत वर्ष पनि गुल्मीमा ९२ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका हुन ।

यस वर्ष गुल्मीमा परीक्षा दिने विद्यार्थीको संख्या नियमित तर्फ ५ हजार ३ सय ३७ जना रहेका छन भने एक्जाम्टेड तर्फ १ सय ३१ र आंशिक तर्फ १ सय ४ जनाले परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ ।

साथै यस वर्ष प्राविधिक विषयमा अध्ययन हुने जिल्लाका दुई वटा विद्यालयका ४९ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । सिभिल इन्जिनियरिङ्ग विषयमा अध्ययन हुने जनज्योति मा.वि रिमुवाबाट २८ र कृषि विज्ञानमा अध्ययन हुने उदय मा.वि शान्तिपुरबाट २१ जना परीक्षमा सहभागी भएका छन् ।

गत वर्ष गुल्मीबाट कुल ६ हजार ५ सय १ विद्यार्थीले प्रवेशिका परीक्षा दिन लागेका छन् । तर यस ५ हजार ३ सय ३७ जना विद्यार्थीले मात्र परीक्षा दिन पाउने भएका छन् ।

गत वर्षको तुलनामा यो वर्ष १ हजार १ सय ६४ विद्यार्थी कम रहेको जिल्ला शिक्षा कार्यालयको जनाएको छ । यस वर्ष गुल्मीबाट छात्र भन्दा २ सय ७२ बढि छात्रा परीक्षामा सहभागी रहेका छन् । जसमा छात्र २ हजार ४ सय १५ र छात्रा २ हजार ६ सय ८७ रहेको कार्यालयले जनाएको छ ।

परीक्षा सञ्चालन गर्न जिल्लामा २७ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष ३० परीक्षा केन्द्र रहेका थिए । यस वर्ष तीन वटा परीक्षा केन्द्र हटाएर २७ बनाइएको छ ।

सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै प्रहरी चौकी नभएको ठाउँमा परीक्षा केन्द्र नराखिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए ।

गत बर्ष भन्दा अहिले केन्द्रहरु पनि परिवर्तन भएका छन् । सम्बन्धित विद्यालयका प्रधानाध्यापक र स्रोत व्यक्तिको इच्छा र मागको आधारमा केन्द्र तोकिएको कार्यालयले जनाएको छ । गत वर्ष ८ वटा केन्द्र थिए भने यो वर्ष तीनवटा घटाएर ५ वटा मात्र केन्द्र बनाईएको छ ।